एजेन्सी । चीनमा शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ तटमा ठोक्किएपछि सांघाईसहित१० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
मौसम पूर्वानुमान अधिकारीहरूले स्थानीय समय अनुसार आइतबार साँझ साढे ५ बजे जिजियाङ प्रान्तको युहुआनमा १ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी ठोक्किएको बताएका छन् । त्यसको करिब एक घण्टापछि आँधी दोस्रो पटक वेन्झाउ सहरमा पुगेको थियो । आँधीका कारण यस क्षेत्रको यातायात सेवा ठप्प भएको छ । सांघाईमा मात्रै १ हजार ४ सय भन्दा बढी हवाई उडानहरू रद्द गरिएका छन् ।



चिनियाँ अधिकारीहरूले यसअघि डल्फिन आँधीलाई लिएर सबै भन्दा उच्च तहको रातो चेतावनी जारी गरेका थिए । सोमबार बिहान भने यसलाई घटाएर ट्रपिकल स्टर्ममा राखिएको छ । आँधी थप भित्री भागतर्फ अघि बढिरहेको छ । अधिकारीहरूले बुधबारसम्म ठूलो वर्षा, भीषण बाढी र पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएका छन् ।
स्थानीय सरकारहरूले मानिसहरूलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेका छन् । डिज्नील्याण्ड र लेगोल्याण्डका केही भागहरू साथै सांघाईलगायत अधिकांश मुख्य पर्यटकीय स्थलहरू बन्द गरिएको जनाइएको छ ।



