काठमाडौं । चुनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।




सभामा बागमती प्रदेश सरकार पूर्व युवा तथा खेलकुद मन्त्री तथा सांसद रमा आलेमगर चुनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरि नगरपालिकामा खानेपानीको मुहान सिमित भएको र उपभोग गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकोले स्रोत बचाई राख्न महत्वपूर्ण भएको बताउनु भयो । उहाँले हामीले विकासको नाममा ढलान, पिच, ढलको प्रयोग गर्दा रिचार्ज सिस्टममा अवरोध पुग्नाले पानीको मुहान सुक्दै जान थालेकोले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले खानेपानीको स्रोत बचाउनुको लागि खानेपानी समिति र सामुदायिक वन उपभोक्ता समिति उल्लेख भूमिका रहने हुँदा स्रोत बचाउन सबैको त्यसतर्फ सोच्नुपर्ने बेला भएको पनि बताउनु भयो । सांसद मगरले हामी आफ्नो घरमा सफा राख्छौं तर त्यही फोहोर खोला, पुल, पुलेसामा लगेर फालिदिन्छौं जसकारण पानीको मुहान र पानीमा फोहोर भइरहेकोले उत्पादित फोहोरलाई व्यवस्थित गर्न सुझाव दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा– ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले २०७२ सालमा भूकम्पपछि पानीघाटको पानीको मुहान सुकेपछि पानी हाहाकार मच्चिरहेको र यो चुनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले त्यो समस्या समाधान गरेको बताउनु भयो । उहाँले यो समितिका अध्यक्ष इश्वर लामाले पानी खुवाउनको लागि गर्नुभएको विगतको भूमिकाको स्मरण गर्दै धन्यवाद दिनुभयो । उहाँले पानीको मुहान सुकेर पानी खान नपाउने अवस्था भएपछि आफुले पनि उक्त समयमा तीन वटा हिलटेक उपलब्ध गराएको र चुनदेवीमा राखेर पानी वितरण गरेको स्मरण गर्नुभयो । चन्द्रागिरि नगरपालिका भित्र रहेका अधिकांश समिति मध्ये सबैभन्दा व्यवस्थित र सर्वसुलभरुपमा पानी खुवाउन सफल भएको भन्दै वडाबाट हुने सहयोग सधै रहने पनि बताउनु भयो । विगतको समयमा परिश्रमी सहकारीबाट १० लाख रुपैयाँ सापटी लिएर अघि बढेको समिति आज यो अवस्थामा आइपुग्दा आफुलाई खुशी लागेको पनि बताउनु भयो ।

चुनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ईश्वर लामाले विगतमा पानीको मुहान सुक्दा उपभोक्ताहरुले पाएका दुःखको बारेमा स्मरण गर्नुभयो । उहाँले जतिबेला चुनदेवी क्षेत्र काकाकुल अवस्थामा पुगेको अवस्थामा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । उहाँले समितिमा ६८२ घरधुरी रहेको र दैनिक २ लाख १६ हजार लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको बताउनु भयो । उहाँले आधुनिक प्रविधि र सामुदायिक सहभागिताको प्रयोगले खानेपानी वितरणमा सुधार ल्याएको र उपभोक्तालाई अन्य समितिले भन्दा सर्वशुलभरुपमा पानी खुवाउन सफल भएको दाबी गर्नुभयो । अध्यक्ष लामाले प्रत्येक उपभोक्तालाई दुई हजार रुपैयाँ बचत फिर्ता गर्ने र फिर्ता सहसुल उपभोक्ताको खातामा जम्मा गरिने र आगामी महसुलबाट कटाउँदै लगिने बताउनु भयो ।


कार्यक्रममा तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । समितिले उपभोक्ताहरुले गर्दै आएको उत्कृष्ठ कामको उच्च मूल्यांकन गर्दै विभिन्न विधामा पुरस्कृत समेत गरेको थियो । शिक्षाधिकृत उपत्यका पृतना तालिम शिक्षालय पानीघाट थानकोटका मेजर सुरज बस्नेत, थानकोट प्रहरी प्रभाग प्रमुख सूर्यप्रकाश सुवेदी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवीलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।












