काठमाडौं । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएको बताइएको छ । घटनामा अन्य २४ जना घाइते भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
मानविकी संकायका एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोली चलेपछि मानिसहरुको भागदौड मच्चिएको थियो । चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । यो युरोपकै पुराना संस्थाहरुमध्ये एक हो ।




घटनापछि राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतक परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको मृत्यु भएको थियो ।



