काठमाडौं । चेकपोष्ट क्षेत्रमा सिमेन्ट बोकेको बा.४ ख २५१० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको तथा ठूलो धनजनको क्षति हुनबाट जोगिएको छ ।

मिनी ट्रक चेकपोष्टबाट वडा कार्यालयतर्फ जाँदै थियो । प्रत्यक्षदर्शीका अनुसार गुडिरहेको अवस्थामा ट्रकमा अचानक वाइरिङ सर्ट भएको आशंका गरिएपछि सवारी रोकिएको थियो । साँघुरो सडकमा ट्रक रोकिँदा यातायात प्रभावित हुने अवस्था देखिएपछि ट्राफिक प्रहरीले ट्रकलाई ब्याक गरेर सडक किनारतर्फ सार्न सुझाव दिएका थिए । तर ट्रक ब्याक गर्ने क्रममा ब्रेकले काम नगरेपछि सवारी अनियन्त्रित हुन पुगेको बताइएको छ । अगाडि रहेको चोकतर्फ ट्रक बढेमा ठूलो दुर्घटना र बढी क्षति हुन सक्ने अवस्था देखेपछि चालकले ट्रकलाई मोडेर सडकको बीचभागमै रोक्ने प्रयास गरेका थिए ।

यस क्रममा ट्रकको पछाडिको भाग चोक नजिकै रहेको बन्द अवस्थामा रहेको मनिष टेलर्स एण्ड सुटिङ्ग–सर्टिङ्ग सेन्टरको सटरमा ठोक्किएको थियो । ठक्करबाट सटरमा सामान्य क्षति पुगेको छ ।स्थानीयवासीले चालकको सुझबुझ र सतर्कताले सम्भावित ठूलो दुर्घटना टरेको जनाएका छन् ।

हाल ट्रक सडकको बीचभागमा तेर्सो परेकाले उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ । सम्बन्धित निकायले ट्रक हटाएर सडक संचालनलाई सहज बनाउने तयारी गरिरहेको छ ।

दुर्घटनाको कारण र प्राविधिक अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय