काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने छ भने काठमाडौंको चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा आई अभियानको नेतृत्व गर्नुहुनेछ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नेछन् । महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौंको गोङ्गबु, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका, जनार्दन शर्माले चन्द्रागिरि नगरपालिका, मातृकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दिनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्नेछन् ।

सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौंको बानेश्वर, हितमान शक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिकामा सञ्चालित अभियानमा सहभागी हुने माओवादीले जनाएको छ ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ। अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।

अध्यक्ष दाहालले अभियानको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थासँग अन्तरक्रिया गरिनेछ ।तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने छ ।

माओवादीले अभियानलाई सफल बनाउन अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तीमा एक–एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । अभियान आगामी मंसिर १६ गतेसम्म चल्नेछ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय