काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सीमानामा पर्ने त्रिभुवन राजपथको झ्याप्ले खोलामा भएको दुर्घटनाबाट थप २१ जनाको शव निकालिएको छ ।




चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको हो । उक्त माइक्रोबसबाट १६ जनाको शव निकालिएको छ । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुबाहक बसबाट पनि पहिरोमा पुरिएको अवस्थामा ५ जनाको शव भेटिएको छ ।

शनिबार बिहान पहिरो गएपछि घटनास्थलमा नेपाली सेना, एपीएफ र नेपाल प्रहरीले उद्दार कार्यलाई तीब्रता दिएको छ । शनिबार घटना घटनास्थलबाट १४ वटा शव निकालिएको थियो । रातको समयमा उद्दारमा कठिनाइ भएपछि आइतबार विहानबाट उद्दार कार्यलाई तीब्रता दिइएको छ । यो समाचार प्रकाशन हुँदासम्म आइतबार घटनास्थलबाट २१ वटा शव निकालिएको छ । उद्दारमा खटिएका प्रहरीले शवको संख्या अझ बढ्न सक्ने जनाएको छ । शनिबार र आइतबार गरेर अहिलेसम्म पुरिएका ३५ वटा शव निकालिएको छ । २०५८ सालमा पनि यही स्थानमा माथिबाट पहिरो खसेर ११ जनाले ज्यान गुमाएका थिए ।








