२०२४ जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टिमको एक समुह शनिबार राति अमेरिका प्रस्थान गरेको छ । भने अर्को एक समूह आइतबार अमेरिकातर्फ प्रस्थान गरेको छ । नेपालले अमेरिकाको मायमीमा विश्वकपको अन्तिम तयारी यहिँ सातादेखि सुरू गर्नेछ। त्यहाँ तयारी गरेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जाने कार्यक्रम छ । सेन्ट भिसेन्टमा अभ्यास गरेपछि नेपाली टोली फेरि अमेरिका फर्कीने छ ।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा ब्याटरको रुपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्। टी–२० विश्वकप २०२४ मा नेपाल समूह ’डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।



नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुने छ भने फाइनल २९ जुनमा हुनेछ ।
नेपालका खेल
नेदरल्यान्डसविरूद्ध – जुन ४– अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६– सेन्ट भिसेन्ट
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जनाउँदैछन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टिमलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन्। सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर–२ को दुई समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समूह ए: भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी: इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी: न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी: दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल



