काठमाडौं । तारकेश्वर नगरपालिकामा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नागार्जुन रिसोर्टको उद्घाटन गर्नुहुँदै पर्यटन क्षेत्रमा थपिएको नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोडी अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले पर्यटन प्रवर्धनमा निजी क्षेत्रले गरेको योगदानको प्रसंशा गर्दै निजी क्षेत्रलाई सरकारले सधैंं प्रोत्साहन गर्दै आएको जानकारी दिनुभयो ।



तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पर्यटकका लागि नगरपालिका अहिले आकर्षकको विन्दु बन्दै गएको दाबी गर्नुभयो । उहाँले नगरपालिकाको वडा नम्बर–३ मा संचालनमा आएको रिर्सोटले अझ नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडाका वडा अध्यक्ष पर्शुराम अर्याललगायतको उपस्थिति रहेको थियो ।



