पाँचथर – पाँचथरको फिदिममा आयोजित चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको च्याम्पियन त्रिभुवन आर्मी फुटवल क्लब बनेको छ । शनिवार पाँचथरको फिदिम स्थित फिदिम माविको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोलअन्तरले पराजीत गर्दै आर्मीले च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले ५ लाख ५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक पाँचथर क्लबले २ लाख ५५ हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिस्पर्धात्मक भएको फाइनल खेलको ३१ औं मिनेटमा आर्मीका पदम तामाङले पहिलो गोल गरेका थिए । तर ३९ औं मिनेटमा आयोजक पाँचथरका आशिष चापागाईंले दिनेश शेर्माको पासलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा रोकेका थिए ।

४७ औं मिनेटमा पाँचथर क्लबका प्रशान्त लक्समले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । तर यसपछि आर्मीले खेललाई दबावमा राख्न सफल भयो । प्रतियोगिताको ५३ औं मिनेटमा डि–बक्स क्षेत्र नजिकै पाँचथर क्लबका खेलाडीले गल्ती गर्दा पाएको मौकालाई आर्मीका सन्तोष केसीले फ्रिकीकमार्फत गोल गरे ।

बराबरीमा पुगेको आर्मीका लागि ६१औं र ७९औं मिनेटमा गोल गर्दै दीपकुमार लामाले आफ्नो टिमलाई ४–२ को सहज जित दिलाए । फाइनल खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) घोषित हुँदै आर्मीका पदम तामाङले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

आर्मीका उत्कृष्ट डिफेन्डरमा वसन्त तामाङ, उत्कृष्ट मिडफिल्डरमा रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षकमा आदर्श मल्ल र उत्कृष्ट गोल रक्षकमा नवीन परियार घोषित हुदै जनही १० हजार पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्तामा आयोजक पाँचथर क्लबका शुकराज राई घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडीमा पाँचथर क्लबका मनिष क्षेत्री र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा पाँचथर क्लबकै रोषन आङ्देम्बे घोषित हुँदै नगद १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जनाए ।

विजेता, उपविजेता तथा विधागत विजेता खेलाडीलाई कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले लगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँचथर क्लबले फागुन १२ गतेदेखि फिदिममा आयोजना गरेको प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ फुटवल टोलीले सहभागिता जनाएका थिए । फिदिम माविको निर्माणाधीन खेलमैदानमा आयोजित प्रतियोगितालाई वाइवाइ चाउचाउले प्रायोजन गरेको थियो । खेलाडी प्रशान्त लक्समलाई दोसल्ला ओडाएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्मान गरेका थिए । प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय