काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको निजी कार चन्द्रागिरि वडा नम्बर ४ स्थित सेतो पहरामा दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्युभएको छ ।




प्र.३–०१–२३ च ६९८५ नम्बरको कार पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो । काठमाडौं महानगरपालिका–३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, काठमाडौं महानगरपालिका– २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम, ६४ वर्षीया कल्पना तिवारी र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो भने ६ वर्षीया बालिका स्मारिका गौतमको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्युभएको थियो ।

कारमा ६ जना सवार थिए । स्मारिकाकी आमा सृष्टी तिवारी भने सामान्य घाइते भएकी छिन् । कार दिउँसो १ बजेर ५५ मिनेटमा दुर्घटना भएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
यसअघि २०८० साउन १२ गते शुक्रबार काठमाडौंबाट चन्द्रागिरि हुँदै मकवानपुरको चित्लाङ जाँदै बा.१०च ३५४६ नम्बरको मारुती भ्यान सोही ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा सिन्धुलीका नवराज ठोकर र काभ्रेपलाञ्चोक सल्लेभुलुका अनिल तामाङको मृत्युभएको थियो ।
तस्बिर : रघुनाथ लामिछाने



