काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको र देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दाबी समेत गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनु भयो । उहाँले संविधानको मर्म र भावना जनतालाई बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताउनुभयो । उहाँले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएको जिकिर गर्नुभयो । उहाँले देशका वामपन्थीहरुबीच मेलमिलाप भएमात्रै स्व. सुवास चन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताउनुभयो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताउँदै संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाई हुन गएको तर्क समेत गर्नुभयो । उहाँले संविधान जारी हुन नदिनका लागि अनेकौ दबाब आएपनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भुमिका नेतृत्वदायी रहेको उहाँको भनाई थियो ।

पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसदले गुमाएको बताउनु भयो । उहाँले समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समिक्षा र संविधानकै समिक्षा गर्नुपर्ने बेला आएको बताएका थिए । नेकपा एमालेले स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठिको आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय