काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुमपश्चिमको आठबीसकोट नगरपालिकाका मेयरसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दुग्ध सहकारी संस्थालाई कार्यविधिविपरीत करोडौँ रुपैयाँ अनुदान उपलब्ध गराई राज्यलाई गैरकानुनी हानि पु¥याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाइ छ । आयोगका अनुसार आठबीसकोट नगरपालिका–९ का जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौँ रुपैयाँ अनुदान प्राप्त गरे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ ।

सहकारीका नाममा प्राप्त सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६÷७७ मा पशु अस्पताल तथा पशु सेवा कार्यालय, रूकुमपश्चिममार्फत सञ्चालित दुग्ध व्यवसाय प्रवद्र्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आयोगको निष्कर्ष छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ विपरीत प्रस्तावहरूको वस्तुनिष्ठ मूल्यांकन नगरी बदनियतपूर्वक अनुदान वितरण गरिएको आयोगले जनाएको छ । आठबीसकोट दुग्ध सहकारी संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो ।

साथै, चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म पनि सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठबीसकोट नगरपालिकाले त्यही सहकारीलाई थप ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको एक मिल्क ट्यांकर र दुईवटा सिंगल क्याब गाडी अनुदानमा उपलब्ध गराएको आयोगको आरोप छ । ती गाडीसमेत प्रयोगविहीन अवस्थामा रहेको र नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा नगरपालिकाको अनुदानको दुरुपयोग भएको आयोगले जनाएको छ ।

आयोगले आठबीसकोट नगरपालिकाका मेयर रवि केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसैगरी, पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुमपश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्णसिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन तथा कृषि विकास कार्यालय रूकुमपश्चिमका कृषि अधिकृत मीनबहादुर केसीविरुद्ध ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै, आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध मुख्य कसुरदारबाट प्राप्त गैरकानुनी लाभका मतियार भएको अभियोग लगाइएको छ । उनीहरूमाथि चिस्यान केन्द्र निर्माणतर्फको ९१ लाख १७ हजार ८७३ रुपैयाँ र गाडी खरिदतर्फको ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह कैद, जरिवाना तथा बिगो असुलउपरको सजाय माग गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय