नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । आज न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ’ए’ को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो । नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यरोलिन ग्राहक हनसेन र गुरो रिटेनले एक एक गोल गरे ।

थप एक गोल भने भने फिलिपिन्स कि एलिसिया बार्करले उपहार दिइन । नर्वे ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । फिलिपिन्स तीन वटै खेल हारेर बाहिरिएको छ । आजै भएको समूह ’ए’ कै अर्को खेलमा स्विट्जरल्यान्डले घरेलु टोली न्युजिल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । आजको बराबरीसँगै स्विट्जरल्यान्ड तीन खेलमा पाँच अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।

आयोजक तथा घरेलु टोली न्युजिल्यान्ड बाहिरिएको छ । नर्वे र न्युजिल्यान्डको समान चार अंक भए पनि गोल अन्तरका आधारमा नर्वे अन्तिम १६ मा पुग्यो । आजै अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको समूह ’एच’ को खेलमा मोरक्कोले दक्षिण कोरियालाई एक–शुन्य गोलले हराएको छ । जितसँगै दुई खेलमा तीन अंकसहित मोरक्को तेस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको दक्षिण कोरिया पुछारमा छ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय