काठमाडौं । वनदेवी सामुदायिक भवन संरक्षण समितिले आयोजना गरेको नवदुर्गा पूजाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको छ । शुभदीपावली, नेपाल सम्वत ११४५ र छठ पर्वको अवसर पारेर समितिले बडादशैंमा आयोजना गरेको नवदुर्गा पूजाको आम्दानी खर्च सार्वजनिक गरेको हो ।




कार्यक्रममा बागमती प्रदेश सरकार पूर्व युवा तथा खेलकुद मन्त्री तथा सांसद रमा आलेमगरले सार्वजनिक काम गर्न निकै कठिन हुने गरेको बताउनु भयो । उहाँले काम गर्ने व्यक्तिलाई हौसला दिनु भन्दा पनि सधै निरुत्साहित गर्ने हाम्रो समाजको प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । चाँडबाँडको समयमा आफ्नो घरको काम छोडेर रातदिन नभनी नवदुर्गा पूजा सफलताका साथ सम्पन्न गराएको सम्पूर्ण टीमलाई धन्यवाद दिनुभयो । सांसद मगरले अन्यत्र जाँदा दुर्गा पूजा आफुले देख्ने गरेको तर, चन्द्रागिरि नगरपालिका क्षेत्रमा नै यो पहिलो पटक नवदुर्गा पूजा भएको स्मरण गर्नुभयो । नौ दिनसम्म आयोजना भएको नवदुर्गा पूजा सबैको साथ र सहयोगबाट सम्पन्न भएको पनि बताउनु भयो । उहाँले २०८१–०८२ को योजना धमाधम सम्झौता भई काम सुरुभएको चाँडो भन्दा चाँडो योजनाको काम सम्पन्न गर्न पनि आग्रह गर्नुभयो । उहाँले यदी काम गर्दाको समयमा कुनै बाधा अड्चन आइपरे आफुहरुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।

साथै चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले हाम्रो सस्कृति र परम्परालाई जीवन्त राख्न गरिएको प्रयास नै अतुलनीय रहेको भन्दै सबैको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकाले नगरभित्र रहेका जात्रा पर्व र वडाले पनि आफ्नो वडामा हुने जात्रा पर्वलाई बजेट किताबमा नै राख्ने गरेकोले आगामी आर्थिक वर्षमा दुर्गा पूजा लगायत अन्य पूजालाई पनि किताबमा नै समेटिने गरी राख्न सुझाव दिनुभयो । प्रमुख गिरीले वडा नम्बर ७ गौचरणमा नवदुर्गा पूजा गरिएको ठाउँ जुन ठाउँ पहिले वडा कार्यालय बनाउने भन्ने ठाउँको रुपमा सिफारिस भएपनि सरकारले तोकेको जग्गाको मापदण्डअनुसार यहाँ बनाउन नमिल्ने र वडा कार्यालय बाणस्थलीको चिल्ड्रेनपार्कसँगै निर्माण हुने पनि जानकारी दिनुभयो । जनप्रतिनिधिहरुले सात वर्षको अवधिमा भौतिक संरचनाहरु निर्माण गर्न सफल भएको र नगरबासीको अपेक्षा पनि भौतिक संरचनामा नै रहेकोले भन्दै उहाँले जनप्रतिनिधिले पनि आफ्नो कार्यकालमा यो संरचना बनाउन पाए हुने थियो भन्नेमै जोड दिएको उल्लेख गर्नुभयो । उहाँले अबका दुई वर्षमा नगरपालिकाले आधारभूत आवश्यकता पुरा गर्न तर्फ अघि बढ्ने र काम नभएको ठाउँ र हुन नसकेको ठाउँमा आफुहरुलाई भेट्न पनि नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधि नहुँदाको अवस्थामा नगरको अवस्था र जनप्रतिनिधि आईसकेपछिको नगरको अवस्थामा धेरै फरक भइसकेको दाबी गर्नुभयो ।

प्रमुख गिरीले भौतिक संरचना निर्माणपछि नै रोजगार सिर्जना हुने हुँदा अब नगरपालिका रोजगारको दिने हिसाबमा अघि बढेको पनि बताउनु भयो । उहाँले १५–२० हजार रुपैयाँ कमाउनको लागि पनि विदेश जानुपर्ने अवस्था अहिले सिर्जना भइरहेको हुँदा नगरबासीलाई उत्पादनमा लाग्न आग्रह गर्नुभयो । उहाँले यदि कोही व्यक्ति आफै स्वरोजगार हुन्छु, बन्छु भन्ने सोच छ भने नगरपालिकामा आएर सम्पर्क राख्न पनि आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले स्वरोजगार बनाउने हिसाबले नगरबासीलाई १४ करोडौं भन्दा बढी रुपैयाँ खर्च गरेर ट्रेनिङ दिएपनि सटिफिकेट मात्र थुपार्ने काम भएको र काम भने केही व्यक्तिले मात्र गरेको बताउनु भयो । उहाँले तालिमको नाममा तालिम मात्र लिएर नहुने र तालिम लिएपछि आयआर्जन गर्ने उद्देश्यले अघि बढ्न पनि सुझाव दिनुभयो ।

समितिका कोषाध्यक्ष जीवन कुमार आले मगरले नवदुर्गा पूजा २०८१ को आम्दानी खर्च विवरण पेश गर्नुभएको थियो । उहाँले सहयोग रसिद संकलन, सवारी साधानबाट उठाइएको चन्दा, चन्दा बाकसबाट उठाइएको भेटी संकलन र चन्द्रागिरि नगरपालिकाबाट भुक्तानी प्राप्त हुने गरी जम्मा ५ लाख ८४ हजार ८ सय ९२ रुपैयाँ आम्दानी भएको बताउनु भयो । उहाँले नवदुर्गासहित विभिन्न देवी देवताको मूर्ति खरिद, भजन टोली, कलाकार खर्च, स्टेज खर्चलगायत गरी ४ लाख १६ हजार ३ सय २६ रुपैयाँ खर्च भएको र १ लाख ६८ हजार ५ स ६६ रुपैयाँ संस्थाले आम्दानी गरेको बताउनु भयो । उहाँले उक्त बचत रकम यही क्षेत्रमा नै खर्च गरिने पनि बताउनु भयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिविलगायतको उपस्थिति रहेको थियो ।






