काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारमा उद्योगमन्त्रीका रूपमा नियुक्त भएका साहले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा साहलाई नियुक्त गरिएको हो।
सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य रहेका साह यसअघि श्रममन्त्रीसमेत बनेका थिए। छोटो समयमै श्रम मन्त्रालयबाट हटाइएका साहलाई अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो। नवनियुक्त मन्त्री साहले मन्त्रालय सम्हालेसँगै पछिल्लो समय देखिएको ग्यास आपूर्ति समस्या, उद्योगी–व्यवसायीका समस्या तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा चुनौती सामना गर्नुपर्नेछ। साहको कार्यकालमा उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधानसँगै आम उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्ने विषय प्रमुख प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।






