काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। उपाधिसँगै नेपालले एसिया कपमा आफ्नो स्थानसमेत पक्का गरेको छ। नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा समेटियो। यूएईका राहुल चोपराले उत्कृष्ट ब्याटिङ गर्दै अविजित शतक बनाए पनि उनको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। फाइनलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको थियो। पहिले ब्याटिङ गर्दै बलियो योगफल बनाएको नेपालले दोस्रो इनिङ्समा नियमित अन्तरालमा विकेट निकाल्दै यूएईलाई दबाबमा राख्यो।
आसिफको शतकले दिलाएको बलियो आधार
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट इनिङ्स खेले। उनले १०६ बलको सामना गर्दै आठ चौका र चार छक्काको मद्दतमा १०२ रन बनाए।आसिफको यो ओडीआई करियरको दोस्रो शतक हो। फाइनलजस्तो महत्वपूर्ण खेलमा शतक प्रहार गर्दै उनले नेपालको ठूलो योगफलको आधार तयार गरे। आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरे। सुरुवाती साझेदारीले नेपाललाई दबाबरहित रूपमा इनिङ्स अघि बढाउने अवसर दिएको थियो। अर्जुन आउट भएपछि पनि आसिफले आफ्नो लय कायम राखे। उनले इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। आसिफको शतकसँगै नेपालको स्कोर मजबुत हुँदै गयो। उनी आउट भएपछि पनि नेपाली ब्याटरले रन बनाउने गति कायम राखे।



गुल्शनको आक्रामक ब्याटिङ
नेपालको मध्यक्रममा गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोरलाई थप उचाइमा पुर्याए। उनले केवल ३८ बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाए। गुल्शनको आक्रामक इनिङ्सले अन्तिम चरणमा नेपालको रनरेट बढाउन महत्वपूर्ण भूमिका खेल्यो। उनले छोटो समयमा धेरै रन बटुल्दै यूएईका बलरमाथि दबाब सिर्जना गरे। त्यस्तै अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए।



