आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । हरारे स्पोर्टस् क्लबमा आईतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेको जितमा कप्तान समेत रहेका ओपनर क्रेग ईव्रानले अविजित १ सय २१ रनको शतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि क्रेगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको विजयी साझेदारी गरे । सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय ईनिङ खेले ।



विस्ली माधिवेरीले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए । ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए । जितसँगै जिम्बावे २ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा रहेको छ । नेपालको दोस्रो खेल २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्नेछे छ ।।



