काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दुवै एयर बस ए–३३० वाइडबडी विमानलाई पूर्ण मर्मत (ओभरहल) गर्न विश्वव्यापी बोलपत्र आह्वान गर्ने तयारी थालेको छ । व्यावसायिक उडान सुरु गरेको करिब सात वर्षपछि यी जहाजहरूलाई पालैपालो ओभरहलमा पठाइनेछ ।

नियमअनुसार ए–३३० विमानले ६ हजार उडान चक्र पूरा गरेपछि ओभरहल गर्नुपर्ने हुन्छ । निगमका अनुसार ‘मकालु’मा करिब ४०० र ‘अन्नपूर्ण’मा ५०० उडान चक्र बाँकी छ ।
दुवै जहाजको मर्मतका लागि करिब पाँच अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ अनुसार प्रक्रिया अघि बढाइँदैछ। कानुनी प्रावधानअनुसार ओभरहल समयभन्दा ८–१२ महिना अगावै टेन्डर प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । प्रारम्भिक ४५ दिने सूचना, प्राविधिक तथा आर्थिक मूल्यांकन, दाबी–विरोध, आशयपत्र र सम्झौता प्रक्रियामा कम्तीमा तीन महिना लाग्ने अनुमान छ । निगमले ‘मकालु’लाई असोज र ‘अन्नपूर्ण’लाई माघसम्ममा ओभरहलका लागि पठाउने लक्ष्य राखेको छ ।

ए–३३० को ओभरहलमा कम्तीमा चार महिना लाग्ने बताइएको छ । चाडपर्वको समयमा जहाज ग्राउन्डेड हुँदा आम्दानी घट्न सक्ने भएकाले निगमले विमान भाडामा लिनेभन्दा इन्जिन भाडामा लिने विकल्प रोजेको जनाएको छ । यसका लागि पनि छुट्टै बोलपत्र प्रक्रिया अघि बढाइनेछ ।

निर्माता कम्पनी एयरबससँग प्रत्यक्ष लिजमा इन्जिन लिन सकिने भए पनि मूल्य महँगो पर्न सक्ने भएकाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाटै जाने तयारी गरिएको छ । हाल निगमसँग जगेडा इन्जिन किनेर राख्ने योजना छैन । अतिरिक्त इन्जिन खरिद गर्दा ठूलो आर्थिक भार पर्ने, मर्मत, बीमा र भण्डारण खर्चसमेत उच्च हुने भएकाले यस्तो निर्णय नगरिएको निगमको भनाइ छ ।

निगमले विगतमा एयरबस ए– ३२० ओभरहल ढिलाइ हुँदा जहाज लामो समय ग्राउन्डेड भएको अनुभव स्मरण गर्दै यसपटक समयमै प्रक्रिया अघि बढाइएको जनाएको छ । ए–३३० र ए–३२० सहित निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी विमान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय