नेपालमा बाघको सङ्ख्या बढेर ४२९ पुगेको छ। विश्व बाघ दिवसको अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको २०८२ सालको पछिल्लो गणनाअनुसार मुलुकभर बाघको सङ्ख्या ४२९ पुगेको हो। मन्त्रालयका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वटा बाघ रहेका छन्। त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेको गणनाले देखाएको छ।
पछिल्लो गणनामा बाघको सङ्ख्या वृद्धि हुनुमा संरक्षण क्षेत्रको सुधार, बाघको बासस्थान व्यवस्थापन र आहारा प्रजातिको वृद्धि मुख्य कारण रहेको मन्त्रालयले जनाएको छ। सन् २०२२ को गणनामा नेपालमा ३५५ वटा बाघ रहेका थिए। त्यसबेला चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ थिए।



नेपालले सन् २००९ देखि प्रत्येक चार वर्षमा बाघ गणना गर्दै आएको छ। यसअघि सन् २०१० मा नेपालमा १२१, २०१४ मा १९८ र २०१८ मा २३५ वटा बाघ रहेका थिए। बाघलाई स्वस्थ पारिस्थितिक प्रणालीको सूचक तथा प्राकृतिक खाद्य शृङ्खलाको महत्वपूर्ण प्रजातिका रूपमा लिइन्छ। बाघ संरक्षण र प्राकृतिक बासस्थानको सुरक्षा गर्ने उद्देश्यले प्रत्येक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ।



