नेपाल र भारतबीच पुनः तित्तता देखिएको छ । चीनसँग वन बेल्ट रोड इनिसिएटिभ बीआरआईको फ्रेम वर्कमा नेपालले हस्ताक्षर गरेपछि रुष्ट भनेको भारतले नेपाल मामिलामा असहज महसुस गरेको छ । त्यसै कारण प्रधानमन्त्री केपी शर्मा ओलीको जनवरीभित्रै हुने भनिएको भारत भ्रमण पनि अन्योल बनेको छ । अनौपचारिक कुराकानीका लागि दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई मतलबै नगरेको भारत संस्थापनले आफ्नो असन्तुष्टि प्रष्ट पारिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि अब छिट्टै भारत भ्रमणमा जाने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो भनाइले प्रधानमन्त्री दिल्ली यात्राका लागि कतिधेरै आतुर हुनुहुन्छ भन्ने यसले पनि प्रष्ट पार्छ ।

प्रधानमन्त्री ओलीमा अहिले भारत फकाउने व्यग्रता रहेको छ । तर, भारत सुनिहाल्ने पक्षमा देखिएको छैन । प्रधानमन्त्री ओलीले आफ्नो सन्देश पुर्याउन कांग्रेस नेतृसमेत रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारत पठाउनुभयो । उहाँ मंसिर २२ गते हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा भाग लिन नेदरल्याण्ड पुग्नुभएको थियो । त्यहाँ विभिन्न कार्यक्रममा भाग लिएर उहाँ गत शुक्रबार भारतको राजधानी नयाँ दिल्ली उत्रिनुभयो । त्यहाँ काठमाडौं विश्वविद्यालयको कार्यक्रममा भाग लिन पुगेको बताइएपनि मन्त्री राणाले भारतीय संस्थापनपक्षसँगको भेटवार्ताको प्रयास गर्नुभएको थियो । उहाँले भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहदेखि आफैंले राखि बाँधेर भाइ बनाएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसम्मलाई भेट्न समय माग्नुभएको थियो । तर, उनीहरुले राणाको प्रस्ताव अस्वीकार गरिदिए । उनीहरुले भनिदिए, पछि भेटौंला ।

दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार भेटका लागि औपचारिकरुपमा प्रस्ताव आउनुपर्छ, काठमाडौंबाटै प्रस्ताव गर्दा हुन्थ्यो, दिल्ली उत्रिनेवित्तिकै प्रस्ताव गरेर समय कसरी पाइन्छ, भारतीय नेताहरुले दिएको सन्देश हो, यो । परराष्ट्रमन्त्री राणा मात्र होइन, प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र प्रदीप ज्ञवालीलाई पनि दिल्ली पठाउनुभएको थियो । तर, उहाँलाई पनि कसैले गनेन । अर्थात ज्ञवाली रित्तो हात फर्किनुभयो । जनवरीभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नसक्ने दाबी गरिएपनि भारत अहिले नै उहाँको भ्रमण गराउने पक्षमा छैन । नेपाललाई गलाउने रणनीति भारतले अंगालेको छ ।

भारत किन चिढियो ?

भारतीय संस्थापन प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो आगामनमै असन्तुष्ट थियो । तर, कांग्रेस पनि साथ रहेकाले आफ्नो पकड बलियो रहने विश्वास लिएको थियो । कांग्रेसकै अगुवाईमा चीनसँगको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत कांग्रेससँग पनि रुष्ट बन्यो । बीआरआईमा नजान भारतले नेपालसँग भन्दै आएको थियो । जस्तै व्रिक्समा रहेको ब्राजिललाईसम्म बीआरआईमा रोक्न सफल बनेको भारतले आफ्नै परम्परागत छिमेकी नेपाललाई रोक्न नसक्दा नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकार असफल बनेको आलोचना खेप्नुपरेको छ । त्यसैले भारतीय संस्थापन पक्ष ओलीको भ्रमण तत्काल गराउने पक्षमा छैन । कांग्रेसभित्रको असन्तुष्टि क्यास गरेर सरकार ढाल्ने षड्यन्त्र हुने हो कि भन्ने चिन्तामा ओली रहनुभएको छ । त्यसैले भारत फकाउने रणनीतिमा उहाँ जोडदाररुपमा लाग्नुभएको छ । नेपाल कुटनीतिकरुपमा कतै चुकिरहेको त छैन ? अहिले प्रश्न उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय