चन्द्रागिरि नगरपालिकाले अत्यधिक सवारी चाप हुने नैकाप चोकमा पैदलयात्रीहरूको सुरक्षाका लागि आकाशे पुल निर्माण गर्न टेण्डर आह्वान गरेको छ। नगरप्रमुख घनश्याम गिरीको सचिवालयले सोमबार सामाजिक सञ्जालमार्फत पुलको डिजाइन सार्वजनिक गर्दै निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएनुभएको हो।
करिब २ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त फलामे ट्रस आकाशे पुल को बजेट चन्द्रागिरि नगरपालिकाले नै विनियोजन गरिसकेको छ। सडक विभाग अन्तर्गतको सडक बोर्डसँग समन्वय गरी टेण्डर प्रक्रिया अघि बढाइएको नगरप्रमुख गिरीले बताए। चन्द्रागिरि नगर क्षेत्रका नैकाप, चेकपोस्ट, थानकोट, गुर्जुधारा, सतुङ्गल, नागढुंगा जस्ता प्रमुख चोकहरूमा सवारी चाप अत्यधिक हुँदा पैदलयात्रीहरू असुरक्षित रूपमा सडक पार गर्न बाध्य छन्। नगरपालिकाले सडक विभागसँग समन्वय गरेर नगरका केही व्यस्त चोकहरूमा ट्राफिक बत्ती जडान गर्ने विषयमा पनि अध्ययन गरिरहेको जानकारी दिएको छ। यो योजनाले पैदलयात्रीहरूको सुरक्षामा सुधार ल्याउने र सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






