प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख रुपैयाँ बढी भेटी गणना गरिएको छ । पौष महिनामा पाथीभरा धाममा चढाइएको २९ लाख २५ हजार रुपैयाँ भेटी गणना गरि बैँकमा जम्मा गरिएको पाथीभरा क्षेत्र बिकास समितिले जनाएको छ । हरेक महिनाको मसान्तमा गणना गरिएको भेटी रकम सार्वजनिक गर्ने तालिका अनुसार हिजो उक्त विवरण सार्वजनिक गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।



धाममा दर्शनार्थीले चढाएको भेटी कर्मचारी र नेपाल प्रहरीको रोहबरमा संकलन गरि हरेक दिन लाहा छाप लगाई माथिल्लो फेदीमा ल्याई राख्ने चलन छ । माथिल्लो फेदीमा जम्मा गरिएको भेटीको पोकाहरु हरेक महिना समितिको कार्यालयमा ल्याई गणना गरि बैँकमा जम्मा गरि विवरण सार्वजनिक गर्ने गरिएको छ ।
यस्तै पौष महिनामा झण्डै साढे ६ हजार मानिस धाममा पुगेका छन् । एक महिनाको अवधिमा ६ हजार ४ सय २७ जना दर्शनार्थी धाममा पुगेको समितिले जनाएको छ । पाथीभरामा वार्षिक २ लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । जसबाट करिब ३ करोड बढी भेटी वार्षिक रुपमा संकलन भईरहेको तथ्याङ्क समितिसँग रहेको छ ।



