नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। रुकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सार्वजनिक रूपमा आफ्नो चुनावी क्षेत्रबारे स्पष्ट पारेका हुन्।



सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने, “अहिलेको चुनाव म रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट चुनाव लड्नेछु।” उनले पूर्वी रुकुमबाट उम्मेदवारी दिए पनि पश्चिम रुकुमसँगको सम्बन्ध निरन्तर रहने उल्लेख गर्दै दुवै क्षेत्रका जनताको विश्वास र भावनालाई सम्मान गर्ने प्रतिबद्धता जनाए।
प्रचण्डले पश्चिम रुकुमका जनताले देखाएको भरोसा र अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणका कामलाई नयाँ ढंगले अघि बढाउने बताए। साथै, रुकुमका जनताको दुःख–सुखमा सधैं सहभागी हुन आउने उनले स्पष्ट पारे।
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्ड कहाँबाट उम्मेदवार बन्ने भन्ने विषय सार्वजनिक भएको थिएन। उनलाई करिब आधा दर्जन जिल्लाबाट उम्मेदवारीका लागि सिफारिस गरिएको थियो। रुकुम पूर्वबाट उम्मेदवारी घोषणा गरेसँगै उनको चुनावी रणनीति स्पष्ट भएको छ।



