झापा- प्रतिबन्धित भारतीय चिठ्ठा बिक्री वितरण गरेको आरोपमा प्रहरीले झापाको मेचीनगरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकरभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार बिहान करिब ११ बजे शेर्पालाई आफ्नै घरमा प्रतिबन्धित भारतीय चिठ्ठा राखी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शेर्पालाई नियन्त्रणमा लिएर उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा ‘रोयल’ लेखिएको भारतीय चिठ्ठा १३ बुङ बरामद भएको प्रहरीले जनाएको छ। प्रत्येक बुङमा १०० वटा चिठ्ठा रहेका कारण जम्मा १ हजार ३०० थान चिठ्ठा बरामद भएको हो।

त्यसैगरी प्रहरीले शेर्पाको घरबाट नेपाली नगद ३६ हजार ५०० रुपैयाँसमेत बरामद गरेको छ। बरामद रकममध्ये १ हजार रुपैयाँ दरका १८ थान नोटबाट १८ हजार रुपैयाँ, ५०० रुपैयाँ दरका २४ थान नोटबाट १२ हजार रुपैयाँ, १०० रुपैयाँ दरका ६१ थान नोटबाट ६ हजार १०० रुपैयाँ र ५० रुपैयाँ दरका ८ थान नोटबाट ४०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका शेर्पालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय