प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले महासभालाई ८ गते सम्बोधन गरेका थिए। महासभाका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए।
महासभालाई सम्बोधन गर्दै उनले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै उनले जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको बताएका थिए।



‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै प्रधानमन्त्री शाहले हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिरहेको उल्लेख गरेका थिए। उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्दै हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताएका थिए।



