प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजको पहिचान बोकेको परम्परा, संस्कृति र मौलिक पहिरनलाई बिर्सन नहुने बताएकी छन् । बदलिँदो जीवनशैली र विश्वव्यापीकरणका कारण मौलिक संस्कार ओझेलमा पर्न थालेको उल्लेख गर्दै उनले यसलाई जोगाउनु सबैको साझा दायित्व भएको स्पष्ट पारिन् ।एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयहरूबाटै मौलिक संस्कृति प्रवर्द्धनको सुरुवात गर्न सकिने बताइन् । उनका अनुसार सरकारी कर्मचारीहरूले हप्तामा कम्तीमा एक दिन आफ्नो जातीय वा परम्परागत पोशाक लगाउने हो भने यसले संस्कृति संरक्षणमा सकारात्मक सन्देश जानेछ ।



प्रधानमन्त्री कार्कीले परम्परागत पहिरन केवल कपडामात्र नभई इतिहास, पहिचान र आत्मसम्मानसँग जोडिएको बताइन् । “हामी आधुनिक बन्न सक्छौं, तर आफ्नो मौलिकता गुमाउनु हुँदैन,” उनले भनिन् ।उनले नयाँ पुस्ता आफ्नै संस्कृतिप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय, कलेज र सार्वजनिक संस्थाहरूले पनि यसतर्फ ध्यान दिनुपर्ने बताइन् । संस्कृति संरक्षणले सामाजिक एकता बलियो बनाउने र देशको पहिचान अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकारी कार्यालयहरूमा ‘परम्परागत पोशाक दिवस’ जस्ता अभ्यास सुरु गर्न सकिने विषयमा छलफलसमेत हुन थालेको छ । केही कर्मचारी संगठनहरूले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि स्पष्ट कार्यविधि आवश्यक रहेको बताएका छन् ।संस्कृतिविद्हरूले पनि प्रधानमन्त्रीको भनाइ समयानुकूल रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार सरकारी तहमै यस्तो अभ्यास सुरु भएमा समाजमा मौलिक संस्कृतिप्रति सम्मान बढ्नेछ ।



