काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट लागुऔषधमा संलग्न फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही असोज ४ गते प्रहरी बृत्त थानकोटले लागुऔषध खैरो हिरोइनसहित सिराहा जिल्ला लाहान नगरपालिका–४ का २८ वर्षीय संजिव कुमार यादवलाई नियन्त्रणमा लिएको थियो ।
यादवलाई प्रहरी बृत्त थानकोटले म्याद थपको लागि यही असोज ६ गते काठमाडौं जिल्ला अदालत लगेको थियो । यादव जिल्ला अदालत काठमाडौंको परिसरबाटै भागेका थिए । फरार यादवलाई जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ललितपुरबाट सोमबार विहान पक्राउ गरेको हो । सप्तरी सुरुङगा ४ घर भई हाल महालक्ष्मी नगरपालिका–३ बस्ने पंकज चौधरी र लहान नगरपालिका ११ का साजन चौधरीले आफ्नो कोठामा यादवलाई लुकाई छिपाई राखेका अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यादवको हतकडी काटी लुकाएको आरोपमा पंकज र साजनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट हतकडी, हतकडी काट्न प्रयोग गरिएको औजार र ५ वटा मोवाईल बरामद गरिएको छ ।



संजिव, पंकज र साजनलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



