फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका साविक उपविजेता नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको छ । न्युजिल्याण्डको स्काई स्टेडियममा आज बिहान भएको खेलमा चार पटकको विश्व विजेता अमेरिकासँग १–१ को बराबरीमा रोकिएको हो । नेदरल्याण्ड्सकी जिल रुड्सले खेलको १७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन ।
दोस्रो हाफको ६२ औँ मिनेटमा अमेरिकी कप्तान लिन्ड्ली होरानले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । समूह ई मा रहेका यी दुई टोली अपराजित रहँदै नकआउट चरणमा प्रवेशका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । अमेरिका ४ अंकसहित तालिकाको शीर्षमा छ भने नेदरल्याण्ड्स समान अंकसहित दोस्रो स्थानमा छ ।



अमेरिकाले समूह चरणको पहिलो खेलमा भियतनामलाई ३–० गोलले पराजित गरेको थियो । नेदरल्यान्ड्सले भने पोर्चुगलमाथि १–० को जित हात पारेको थियो । आजै यही समूहको पोर्चुगल र भियतनाम आमने दिउसो सवा एक बजे सामने हुने छन् । पहिलो खेलमा दुवै टिम पराजित भएकाले आज जित निकाल्ने टोलीको प्रि क्वाटरफाइनल सपुग्ने सम्भावना कायमै रहन्छ ।
यस्तै, आजै अपरान्ह पौने ४ बजे घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्ने छन् । समूह बीमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ । नाइजेरियाल तेस्रो स्थानमा रहेको छ । आजको खेलमा अस्ट्रेलिया विजयी भएमा प्रि क्वाटरफाइनलको स्थान पक्का गर्ने छ भने नाइजेरिया विजयी भएमा प्रि क्वाटरफाइनलकै सम्भावना कायमै रहने छ । यो समूहमा क्यानडा अहिले चार अंकका साथ शीर्ष स्थानमा रहको छ । क्यानाडले नाइजेरियासँग बराबरी खेलेको थियो ।



