फोनमा ठूलो स्वरले बोलेको निहुँमा चक्कु प्रहार गरि एक जनाले आफ्नै साथीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत साउन २६ गते राती बागलुङको कोठेखोला गाउँपालिका–३ माजकेटरामा मजदुरी गर्न आएका मजदुरलेनै आफ्नो साथीको हत्या गरेका हुन् ।ढोरपाटन नगरपालिका–७ का ३६ वर्षीय अशोक खत्रीको हत्या आरोपमा प्रहरीले ढोेरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्ती र ३६ वर्षीय रिखे दमाईलाई घटना भएको भोलीपल्ट नियन्त्रणमा लिएको थियो । दुई जनालाई पक्राउ गरि प्रहरीले अनुसञन्धान सुरु गरेको थियो । अनुसन्धानबाट अर्जुनले धारिलो चक्कु अशोकको घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खुलेको छ ।



मजदुरीका लागि आएका तीनै जना २५ गते रातीसँगै बसेर मादक पदार्थ सेवा गरेका थिए । सोही क्रममा अशोकको मोबाइलमा फोन आएपछि उनी फोनमा चर्को आवाजले बोकोको निहुँमा तीन जना बिच झगडा भएको थियो । त्यस दिन पनि उनीहरु हात हालाहाल गरेका थिए । भोलीपल्ट विहानैदेखि आ–आफ्नो काममा लागेका उनीहरु साँझा सँगै भएर मादक पदार्थ सेवन गरे । अघिल्लो दिनको कुरालाई लिएर झगडा गर्दा अर्जुन घर्ती मगरले अशोकको घाँटीमा चक्कु प्रहार गरे । चक्कु प्रहार गर्दा अशोकको घटनास्थलमै मृत्यु भयो । खत्रीको मृत्यु भएपछि स्थानीयले घर्ती र दमाईलाई समाएर प्रहरीलाई बुझाएका थिए । अनुसन्धान गर्दा अर्जुनले चक्कु प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन् । अहिले दुई जनालाई नै हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरि रहेको छ ।



