सुक्खा पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो ढुंगासहितको पहिरो पन्छाएर सडक खुलाए पनि गतराति ठूला ढुंगासहितको पहिरो खसेर राजमार्ग पुनः अवरुद्ध भएको हो । सडक विभागको समन्वयमा पहिरो पन्छाउने प्रयास भएपनि ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् । राजमार्गका ठाउँठाउँमा सुक्खा पहिरो खस्दा दुई सातादेखि पटकपटक सडक अवरुद्ध भइरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताएका छन् ।






