काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । वैशाख १२ मा हिउँदे अधिवेशन अन्त्य गरेर वैशाख ३१ बाट प्रि–बजेट छलफल सुरु गर्ने तयारी सहित बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा पेस गर्ने तथा छलफल गरी पारित गरिने जनाइएको छ। त्यस्तै बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदबाट नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पहिलो संशोधन स्वीकृत गर्नुको साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड २०८१ स्वीकृत गरिएको छ । त्यस्तै बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ ।






