बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन् ।
सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन् ।
मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा मगर रहेका छन् । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणिन्द्र प्रसाइँले जानकारी दिए ।घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन् । घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ ।






