मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित भनिएको एक बालगृहमा बस्दै आएकी किशोरीले आफू त्यहीँ पटक–पटक बलात्कार भएपछि प्रहरीमा जाहेरी दिएकी छिन् । होस्टेल प्रमुखमाथि नै यस्ता गम्भीर आरोप लागेपछि व्यवस्थापन र निरीक्षणप्रति प्रश्न उठेको छ ।



१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएकी थिईन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन् । हाल त्यहाँ उनीसहित १५ जना बालिकाहरू छन् । तर, गत जेठ १ गतेदेखि ८ गतेसम्मकै अवधिमा होस्टेल प्रमुख मधुसुधन रावतले आफूलाई पटक–पटक बलात्कार गरेको उनी बताउँछिन् । किशोरीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान सुरु गरेको छ ।
१७ वर्षीया ती किशोरीले दिएको जाहेरीका अनुसार सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको मकवानपुरको कैलाश गाउँपालिकास्थित फिल्डका हेड अफिसर मधुसुधन रावतले गत जेठ १ गतेदेखि असार ८ गतेसम्मकै बीचमा आफूलाई पटक–पटक बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले उजुरी दर्ता भएको पुष्टि गर्नुभयो । ‘जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ’, उहाँले भन्नुभयो । हाल किशोरीलाई हेटौँडाको एक सेफ हाउसमा राखिएको छ । जाहेरीका अनुसार होस्टेलको कर्मचारी रावतको कोठामा दुध पुर्याउन गएको बेला ती किशोरीलाई बलात्कार गरिएको आरोप छ । पछि धम्की र मानसिक दबाबमा राखेर पटक–पटक जबर्जस्ती गरेको आरोप पीडितले लगाएकी छिन् । ती किशोरीमाथि १८ महिना पहिले पनि बलात्कार भएको भन्दै उजुरी परेको थियो । त्यो घटनामा आरोपीलाई अदालतले केही दिनअघि पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।



