काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ यतिबेला देशकै चासोको केन्द्र बनेको छ । प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रको चुनावलाई धेरैले ‘प्रतिष्ठाको लडाइँ’ का रूपमा हेर्न थालेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा उत्रँदै आएका ओलीले विगतका सात मध्ये छ चुनावमा विजय हासिल गरेका छन् । यसपटक पनि उनी आफ्नै पुरानो निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिस्पर्धामा छन् ।
दमक, कमल, गौरादह र गौरीगञ्ज समेटिएको यस क्षेत्रमा अघिल्ला दुई निर्वाचनमा ओलीले अत्यधिक मतान्तरसहित विजय प्राप्त गरेका थिए । तर यसपटकको चुनावी माहोल केही फरक देखिएको छ । प्रतिस्पर्धी दलहरूले पनि बलिया उम्मेदवार अघि सारेपछि चुनाव थप रोचक बनेको हो । अभियानको सुरुवातसँगै उम्मेदवारहरू घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन् । विगतमा सीमित सभा र कार्यकर्ता भेलामा केन्द्रित हुने नेताहरू यसपटक गाउँ–टोलमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । स्थानीय बजार, बस्ती र सामुदायिक स्थलहरूमा उम्मेदवारहरूको उपस्थिति बाक्लिएको छ ।



मतदाताहरू पनि यसपटक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा स्पष्ट प्रतिबद्धता खोजिरहेका छन् । युवा मतदाताको संख्या उल्लेख्य भएकाले सामाजिक सञ्जाल र प्रत्यक्ष संवाद दुवै माध्यमबाट प्रचार–प्रसार तीव्र पारिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को नतिजाले राष्ट्रिय राजनीतिक सन्देश दिने सम्भावना छ। प्रमुख दलहरूबीच तालमेल हुने वा एक्लाएक्लै प्रतिस्पर्धा हुने भन्ने विषयले पनि परिणाममा प्रभाव पार्न सक्छ । मतदान मिति नजिकिँदै जाँदा चुनावी गतिविधि झनै बढ्ने अपेक्षा गरिएको छ । अब मतदाताको निर्णयले यस क्षेत्रको प्रतिनिधित्व कसले गर्ने भन्ने टुंगो लगाउने छ ।




