पशुपति परिसरमा फूल व्यवसाय, क्याफे, पार्किङ लगायतका व्यवसाय सञ्चालन गर्नेहरुले पशुपति विकास कोषलाई भाडा तिर्न अटेर गरेका छन् । कोषको कमजोरीका कारण झण्डै दुई करोड रुपैयाँ बराबरको रकम उठन् नसकेको हो ।
पशुपतिनाथ मन्दिर परिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न आलटाल गरिरहेका छन् । मन्दिर परिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा बुझाएका छैनन् ।



कतीपयसँग भने कोषले २०५४ सालदेखिकै वक्यौता रकम लिन बाँकी छ । यसरी व्यवसायीले कोषलाई वर्षौदेखिको भाडा बुझाउन आनाकानी गर्नुमा कोषकै मिलेमतो रहेको हुनसक्ने आशंका गरिएको छ । तर, कोष भने भाडा तिर्नका लागि पटक पटक चिठी पठाउँदा पनि व्यवसायीहरुले नसुनेको भन्दै पन्छिन खोज्छ ।
पशुपति परिसरमा पूजा सामाग्रीको व्यापार गर्न कोषसँग अनुमति लिनुपर्ने व्यवस्था कोषको मन्दिर तथा पूजा सामाग्रीको व्यवस्था नियमावलीमा रहेको छ । साथै व्यापारको अनुगमन गर्ने र आवश्यक परे व्यवसायीलाई कार्वाही गर्ने जिम्मेवारी पनि कोषलाई रहेको छ । तर, परिसरभित्र न त व्यवसायीले समयमा भाडा बुझाएका छन् न त कोषले निगरानी नै गरेको छ । केही व्यवसायी भने कोरोना लगायतका कारण व्यवसाय प्रभावित हुँदा एकमुष्ठ रकम बुझाउन नसके पनि किस्ताकिस्तामा भाडा बुझाउने गरेको बताउँछन् ।
व्यवसायीले वर्षौदेखिको भाडा तिर्न अटेर गर्दा पनि कोषले कार्वाहीको प्रक्रिया अघि नबढाउनुलाई मिलेमतोको आशंकाको रुपमा हेर्न मद्दत पु¥याउँछ । पशुपति परिसरभित्र सञ्चालित पूजा पसलहरुबाट झण्डै एक करोड, क्याफे सञ्चालनबाट ६५ लाख पार्किङबाट २५ लाखभन्दा बढी रकम उठ्न बाँकी रहेको छ ।



