भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम जोडिएको छ । गुरुङले सो जग्गामा लगानी गरेका थिए । सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।
सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति÷मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये १ सय १२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गुरुङले कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए ।।



