भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन् । वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलंकाको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको हो ।
अभूतपूर्व वर्षाले धेरै क्षेत्र जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसमा बिदा दिइएको छ। अहिलेसम्म सात हजार पाँच सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितलाई ८४ वटा राहत शिविरमा राखिएको छ । बाढीका कारण थुथुकुडीमा सडक पनि भत्किएका छन् ।



तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ । भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरूद्ध बनेको छ ।



