काठमाडौं । मोबाइल र अनलाइन गेमप्रतिको बढ्दो लत कति खतरनाक हुन सक्छ भन्ने घटनाले भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा सबैलाई स्तब्ध बनाएको छ।
मंगलबार राति एकै परिवारका तीन नाबालिग दिदी–बहिनीले आफ्नो घरको बालकोनीबाट हाम फाल्दा घटनास्थलमै ज्यान गएको छ। गाजियाबादको टीला मोड थाना क्षेत्रअन्तर्गत भारत सिटी सोसाइटीको बी–१ टावरमा बस्ने १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाखीले नवौँ तलाबाट हाम फालेको प्रहरीले जनाएको छ। घटना राति करिब २ बजेतिर भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार तीनै जना बहिनीहरू लामो समयदेखि अनलाइन मोबाइल गेममा अत्यधिक लतमा परेका थिए। उनीहरू ‘टास्क–बेस्ड कोरियन लभर गेम’ खेल्ने गरेको परिवारजनले बताएका छन्। कोरोना महामारीपछि उनीहरूको मोबाइल प्रयोग झनै बढेको थियो।



प्रहरीले घटनास्थलबाट एक सुसाइड नोटसमेत फेला पारेको छ, जसले उनीहरू मानसिक दबाब र द्वन्द्वमा रहेको संकेत गर्छ। यद्यपि प्रहरीले सबै पक्षबाट गहिरो अनुसन्धान भइरहेको जनाएको छ। यस घटनाले नाबालिगमा मोबाइल र अनलाइन गेमको बढ्दो असर, मानसिक स्वास्थ्य र अभिभावक–सन्तानबीचको संवादको महत्त्वबारे गम्भीर प्रश्न उठाएको छ।



