भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो । भारतको वित्त मन्त्रालयले अक्टोबर १६ सम्मका लागि भन्दै कर लगाउने घोषणा गरेको हो ।
यसअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ । यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने मुलुकमा मूल्य बढ्ने देखिएको छ । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतले चामल निर्यातमा केही समयअघिदेखि नै कडाइ गर्दै आएको छ ।



भारतले यसअघि गैर–बासमती चामलमा प्रतिबन्ध लगाएको थियो । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोषले दिइसकेको छ । उसले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन समेत आग्रह गरेको छ ।



