मस्र्याङ्दी गाउँपालिकामा पीढी–दरपीढी चल्दै आएको परम्परागत भिर मह शिकार अब पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिने भएको छ। गाउँपालिकाले यस अनौठो र साहसिक परम्परालाई व्यवस्थित गर्दै आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने र संकलित महलाई बजारसम्म पु¥याई स्थानीय आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने योजना सार्वजनिक गरेको हो।
गाउँपालिकाको कार्यपालिकाको बैठक ले भिर मह शिकार गर्ने स्थानीय शिकारीहरूसँग सामूहिक छलफल गरी एकीकृत समयतालिका तयार गर्ने निर्णय गरेको छ। यसमा भिर मह शिकारसँगै स्थानीय गाउँहरूको संस्कृति, कला, र परम्परागत जीवनशैलीलाई समेत जोडेर पर्यटन प्याकेज तयार पारिनेछ।

निर्धारित समयमा आयोजना गरिने भिर मह शिकारलाई सार्वजनिक रूपमा प्रचारप्रसार गरी देश–विदेशका साहसिक पर्यटकलाई निमन्त्रणा गर्ने योजना छ। यसले मस्र्याङ्दी गाउँपालिकामा पर्यटकको आगमन वृद्धि गर्ने मात्र होइन, स्थानीय संस्कृति र जीवनशैलीलाई विश्वभर चिनाउने लक्ष्य लिएको अध्यक्ष अर्जुन गुरुङ बताउनुहुन्छ। संकलित भिर महलाई विभिन्न संघ–संस्था तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवस्थित ब्रान्डिङ र बजारीकरण गरिनेछ। यसबाट स्थानीय शिकारी र किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने, र पालिकाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ।

मस्र्याङ्दी गाउँपालिकाको वडा नं। १ देखि ७ सम्मका थुप्रै डाँडा–भिरहरूमा प्राकृतिक महका चट्टानी मौरीको उपस्थिति रहँदै आएको छ। यहाँको भिर मह शिकार साहस, सीप, र सामूहिक मेहनतको अद्वितीय मिश्रण हो, जसले लामो समयदेखि यहाँको सांस्कृतिक पहिचानलाई जोगाइरहेको छ। परम्परागत भिर मह शिकार केवल आर्थिक क्रियाकलाप मात्रै नभई संस्कृति, पहिचान र साहसिक पर्यटनको अनमोल सम्पदा हो। यसलाई व्यवस्थित गरेर मस्र्याङ्दी गाउँपालिकालाई पृथक र विश्वस्तरीय साहसिक पर्यटन गन्तव्य बनाउने हाम्रो लक्ष्य भयको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय