नेपाल चार देशसम्मिलित महिला टि–२० आई सिरिजमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ । पराजित भएपनि नेपाल नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभलमा नेपालले दिएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।



मलेसियाको जितमा ऐना हामिजाह हाशिमले अविजित ३७, महिराह इजाती इस्माइलले २१, वान जुलिया वान मोहम्मद रशिदले ८ रन बनाईन् । नेपालका लागि पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २३, काजोल श्रेष्ठले १८, इन्दू बर्माले २० रन बनाईन । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाकी ऐना हामिजाह हाशिम, नुर दानैआ सामाद र महिराह इजाती इस्माइलले २–२ विकेट लिइन् । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।
सोही आधारमा डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो । आजको खेलमा पराजित भएपनि यसअघिका दुई खेलमा बिजयी भएको नेपाल नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको छ । नेपाललाई पराजित गरेको मलेसिया भने जितका बाबजुद प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले उपाधिका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



