काठमाडौं । भ्रष्टाचार मुद्दा लागेका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाउनु भएको छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले सुरक्षण मुद्रण केन्द्रमार्फत राजस्व स्टिकर छपाईमा भ्रष्टाचार मुद्दा लागेका अर्याललाई सफाई दिएको हो ।



सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र केन्द्रका निर्देशक सफल श्रेष्ठ भने दोषी ठहर भएका छन् । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उहाँहरुलाई बुधबार दोषी ठहर गरेको हो ।
११ व्यक्ति र १ कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै आयोगले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।



