बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकाको विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर्ष जेल सजाय सुनाएको छ। विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेको हुन्। बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले गत जनवरीमा शेख हसिना र उनका परिवारका सदस्यविरुद्ध सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको आरोपमा ६ वटा छुट्टाछुटै मुद्दा दायर गरेको थियो। बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइनेछ।

अदालतले शेख हसिनाका छोरा सजीव वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना, र छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय तोकेको छ। यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले २०२४ जुलाईमा शेख हसिनालाई सरकारविरोधी आन्दोलन दमनका क्रममा मानवताविरुद्ध अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

शेख हसिना र उनका परिवारका सदस्य फरार अवस्थामा रहेका कारण उनीहरूको तर्फबाट वकिल उपस्थित थिएनन्। तर शेख हसिना र उनका निकटस्थहरूले सार्वजनिक अभिव्यक्तिमा आफूहरू कुनै भ्रष्टाचारमा संलग्न नभएको दाबी गरिरहेका छन्। यस प्रकरणमा भारत सरकारलाई बंगलादेशले शेख हसिनाको सुपुर्दगीका लागि अनुरोध गरेको छ। भारतीय विदेश मन्त्रालयले औपचारिक रूपमा ढाकाबाट पत्र प्राप्त भएको र भारतले बंगलादेशको शान्ति, लोकतन्त्र र स्थिरताको दृष्टिले आवश्यक संवाद जारी राख्ने जनाएको छ।

सन् २०२४ जुलाईमा देशमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिना सन् २०२४ अगस्ट ५ मा भारत प्रवेश गरेकी थिइन्। त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले कानुनी तथा राजनीतिक प्रक्रियाहरू अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय