काठमाडौं – रसुवामा बाढीबाट प्रभावित परिवारका लागि चन्द्रागिरि नगरपालिका–थानकोटस्थित चन्द्रागिरि हाइकर्स क्याफे परिसरमा शनिबार राहत सामग्री संकलन गरिएको छ। प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले स्थानीयस्तरमा राहत संकलन अभियान सञ्चालन गरिएको हो।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित बस्तीमा राहत पुर्‍याउन चुनौती देखिएको छ। सडक तथा पुलमा भएको क्षतिले कतिपय स्थानमा आवतजावतसमेत प्रभावित भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित परिवारका लागि खाद्यान्नसँगै त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, किचन सेट, ग्यास सिलिन्डर, बाल्टिन, मग तथा पानी राख्ने कन्टेनरजस्ता सामग्री आवश्यक छन्।

यही आवश्यकतालाई ध्यानमा राख्दै थानकोटमा सञ्चालन गरिएको राहत संकलनमा स्थानीयवासी तथा इच्छुक व्यक्तिहरूले खाद्यान्न, कपडा, सरसफाइका सामग्री, भान्साका सामानलगायत तत्काल प्रयोगमा आउने सामग्री सहयोग गर्न सक्ने जनाइएको छ। स्थानीयस्तरबाट संकलन हुने राहत सामग्री सम्बन्धित बाढी प्रभावित परिवारसम्म पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय