झापा । पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने हजुरबुबा र नातिनी कमल ३ को भएको बताइएको छ ।
उनीहरुको नाम र थर खुल्न सकेको छैन । सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको छ । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका छन् ।



ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँको अबस्था तनावग्रस्त रहेको छ ।



