काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक रहेको बताउनु भएको छ । बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशको परराष्ट्र नीति कमजोर बन्दै गएको भन्दै गुरुङले राष्ट्रिय सहमतिको सरकार चाहिएको बताउनु भयो । परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेकाले राष्ट्रिय सहमतिले सरकार बन्नुपर्नेमा उहाँले जोड दिनु भयो ।नेताहरू राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गएको भन्दै गुरुङले चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समय पञ्चशीलको सिद्धान्त कमजोर बन्दै गइरहेको साथै असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधर बन्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाउनु भयो ।

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकास, स्थिरता, स्थायित्व अनिवार्य रहेको बताउनु भयो । उहाँले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको औल्याउनु भएको छ । विचारको क्षेत्रमा देखापर्ने मतभेदहरु मैत्रीपूर्ण ढंगले प्रतिस्पर्धा गर्नुपर्ने भन्दै परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणको मामिला लगायतका बिषयमा राष्ट्रिय सहमति जरुरी भएको महासचिव गुरुङको तर्क छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय