लमजुङ, फागुन १२ – लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार सो भूकम्पको धक्का लमजुङका विभिन्न स्थानमा महसुस गरिएको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।
लमजुङ भूकम्पीय दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ। यसअघि पनि साना र मध्यम परिमाणका भूकम्पहरू गइरहेका छन्। विज्ञहरूका अनुसार लगातार पराकम्प गइरहनु भूगर्भीय उर्जा निस्किरहेको सङ्केत भए पनि सतर्कता आवश्यक रहेको बताइएको छ। स्थानियबासीले बिहान भूकम्पको हल्का झट्का महसुस गरे पनि कुनै ठूला क्षतिको खबर आइनसकेको जनाएका छन्। भूकम्पको जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।






