नेपाल आयल निगमले चितवनको लोथरमा अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन र भण्डारण गृहसहितको ग्रीनफिल्ड टर्मिनल निर्माणको काम औपचारिक रूपमा सुरु गरेको छ। लोथरमा कार्यालय स्थापना गर्दै निगमले निर्माणको थालनी गरेको हो। यो दोस्रो चरणको पाइपलाइन विस्तार परियोजनाले लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर पाइपलाइन बिछ्याउनेछ। परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार, यसबाट देशको इन्धन आपूर्तिमा सहजता आउनेछ। नेपाल सरकार र भारत सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त परियोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये १० अर्ब नेपाल सरकार र ५ अर्ब भारत सरकारबाट लगानी हुनेछ। इन्डियन आयल कर्पोरेसनलाई १४ अर्ब ९ करोड ६० लाख रुपैयाँको ठेक्का दिइएको छ। कर्पोरेसनको विस्तृत परियोजना प्रतिवेदनअनुसार ४ अर्ब २८ करोड ८० लाख रुपैयाँ पाइपलाइन निर्माणका लागि र ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ लोथरस्थित ग्रीनफिल्ड टर्मिनल निर्माणका लागि छुट्याइएको छ।
राप्ती नगरपालिका–१ मा २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा बन्ने ग्रीनफिल्ड टर्मिनलमा ९१ हजार ९०० किलोलिटर इन्धन अट्ने क्षमता हुनेछ। यहाँ ३३ किलोलिटर क्षमताका ३ वटा पेट्रोल ट्यांक, ४६ हजार ५०० किलोलिटर डिजेल अट्ने ३ ट्यांक, १ हजार ६०० किलोलिटर मट्टितेल अट्ने २ ट्यांक र १० हजार ८ सय किलोलिटर हवाई इन्धन अट्ने ३ ट्यांक निर्माण गरिनेछ। त्यस्तै ५०-५० किलोलिटर क्षमताका चार वटा अन्डरग्राउन्ड ट्यांक र दुई वटा २५० किलोलिटर क्षमताका ट्यांक पनि रहनेछन्। पाइपलाइनको व्यास १० दशमलव ७५ इञ्च हुने र प्रतिघण्टा २ सय ७३ किलोलिटर इन्धन प्रवाह हुने परियोजनाले जनाएको छ। परियोजनाको म्याद ५४ महिना तोकिएको भए पनि तीन वर्षमै काम सक्ने लक्ष्य राखिएको छ। यो परियोजना तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा २०८० जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सम्झौताअनुसार अघि बढाइएको हो।






