सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । सप्तरी जिल्ला अदालतको आदेशमा उनलाई थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ ।नवनिर्वाचित अध्यक्षसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ ।
उनीहरूबिरुद्ध जर्वजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति वेपत्ता गरेको सम्बन्धी मुद्दा दर्ता भएको छ । वडाध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ । नवनिर्वाचित वडाध्यक्ष साह २० मंसिरमा शपथ लिँदै गर्दा पक्राउ परेका थिए । साहसहितको समूहले सन्तोषी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको आरोप छ । नितिश अझैसम्म भेटाउन सकेका छैनन् ।






