सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर दुई दशमलव एक छ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९÷८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेकाले आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम भएको बताए । वस्तु आयातमा भएको संकुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना भएको उल्लेख गर्दै अर्थमन्त्री महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको बताए ।

मुलुकको शोधानान्तर स्थिति वचतमा रहेको भन्दै अर्थमन्त्री महतले विदेशी मुद्रा सञ्चिती ९ दशमलव ४ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेको बताए । उनले संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको जानकारी दिंदै कुुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको बताए ।

सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । नेपाल सरकारको लगानीमार्फत सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा मात्रै नाफामा सञ्चालित रहेका छन् । आर्थिक वर्ष २०७८÷७९मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड बराबरको लाभांश अर्थात लगानीको १ प्रतिशत लाभाशं मात्र प्राप्त गरेको छ ।

सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको छ । अर्थमन्त्री महतले प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय